अलिखित

अलिखित

लेखक: ध्रुवचन्द्र गौतम

पृष्ठ स‌‌ख्या: २२१

प्रकाशक: साझा प्रकाशन, नवौँ संस्करण (२०७६)

कुनै पुरातात्विक वस्तुको उत्खननको लागि निस्किएको एघार जनाको टोली एउटा यस्तो गाउँमा पुग्छ जहाँ बस्दा डुल्दा हिँड्दा दुःख, गरिबी, अभाव र चरम निराशाको समेत उत्खनन हुन्छ । एउटा यस्तो गाउँ जो देशको मानचित्रबाट गायब छ, गरिब छ, चरम अभावले जेलिएको छ, जो सँग विद्रोह गर्ने न त इच्छाशक्ति छ न त सामर्थ्य नै छ त्यस्तो देहाती गाउँको कथा हो अलिखित । विद्रोह गर्ने, शिर उठाउने कसैले प्रयत्न गरिहाले पनि दबाइन्छन् त्यस्ता आवाजहरु । त्यसैले त अभिशप्त छन् गाउँलेहरु एउटा किवदन्तीको भ्रममा धनी हुने आशामा दोरहलन्तमा पोखरीमा ज्यान गुमाउन। हुन त लेखकले भनेजस्तै भ्रम पनि त भ्रममा रहुन्जेलसम्म सत्य नै ठहरिन्छ । त्यही भ्रमलाई सत्य ठानेर गरिबी र अभावसँगै बानी परेका छन् दुखनी, फुलवा, धरीछ्न र थुप्रै थुप्रै गाउँलेहरु । केहीगरी भ्रमबाट, अन्याय अत्याचारद्वारा सृजित गरिबीबाट निस्किन प्रयत्न गरे दबाइन्छन् इनरा, सुनरा र सलिमका आवाजहरु ।

‘अलिखित’ मधेशको एउटा गरिब गाउँको कारुणिक चित्र मात्र होइन शोषण र अन्याय विरुद्धको आवाज सहित राज्य प्रतिको नमीठो व्यङ्ग्य पनि हो । मैथली भाषाको प्रयोगले उपन्यासमा एउटा छुट्टै स्वाद पाइन्छ भने पात्रहरुको संलग्नतामा गरिएको अनुवादले उक्त भाषा नबुझ्ने पाठकलाई पनि सजिलो पारिदिएको छ ।

हुन त उपन्यास आज भन्दा करिब चालिस वर्षअघि लेखिएको हो तर अझै पनि देशमा यस्ता गाउँहरु छन् जो विरिहनपुर वरेवा जस्तै देशको मानचित्रबाट गायब छन्, जहाँ राज्यको न्युन उपस्थिति छ अथवा राज्य भएर पनि राज्य हुनुको कुनै आभास छैन । जसरी दोरहलन्त पोखरीले झुटो धनको लालशामा गाउँलेहरुलाई खिचिरहन्छ आज विदेशरुपी दोरहलन्तले खिचिरहेछ तर ‘जहाँ गएपनि हिउँमा अथवा हावामा, आफ्नो समस्या र स्थितिको एक टुक्रा राप त हामी अवश्य लिएर हिँड्छौ ।‘  विदेशमा पनि सुख कहाँ छ र ? आशा र उर्जा निर्यात गरेर बदलामा लाशका बाकशहरु आयात गरिरहेछौँ हामी । बिरहनपुरमा जस्तै स्रोत साधन सिमीत व्यक्तिको पहुँचमा छ र गरिबहरु गरिब रहिरहन अभिशप्त छन् । साँच्चै अभावको यो ‘अलिखित’ कथा लेखिन कहिले बन्द हुन्छ होला । कहिले हामी समुन्नति र समृद्धिको कथा लेख्न सक्षम हुन्छौँ होला । उपन्यास पढिसक्दा यो प्रश्नले अवश्य नै च्वास्स विझाउँछ ।  

Leave a comment