सफेद मान्छेहरु

-शरद संसार

 म अझै सम्झन्छु
सेतै पोतिएको हाम्रो स्कुलको भित्ता
म सानो छँदा
मेरो दाइले भन्नुहुन्थ्यो
सरस्वतीलाई मन पर्ने रङ सेतो हो अरे
सायद बालकहरुको मन पनि सेतै हुन्छ क्यारे
सफेद क्यानभासमा जस्तो पोतिन्छन् रङहरु
ऊ त्यस्तै भएर त रङ्गिदिन्छ
म पनि त हुर्किँए
हजारौँ रङ्गीन सपनाहरु देखेर
तर अचेल मलाई डर लाग्न थालेको छ
कतै मेरा सपनाहरुले आँखामा पट्टि बाँधिदिए भने ??
म दोष कसलाई दिऊँ
मेरा आँखाहरुलाई ??
या अन्धकारलाई ??
अन्धकार त रात्रिको नियति नै हो
तर यहाँ त दिउँसै अँध्यारो छाएको छ
बन्द कक्षाकोठाहरुमा,
भत्किएका होस्टेलका भवनहरुमा,
अनि महिनौँ अघि त्यही होस्टेलको कुनामा मिल्काइएर धमिरा अनि माकुराको जालो लागेको किताबहरुमा,
र सबैभन्दा भयानक रुपले त छाएको छ यी तमाम मनहरुमा
तर अपसोच
जिम्मेवार भनाउँदाहरु त यहाँ घुमिरहेछन्
सेतो आवरणभित्र
कालो मन लिएर
ए दुर्गन्धित मन भएका
सफेद मान्छेहरु हो
तिमीलाई कुनै अधिकार छैन
हाम्रो वर्तमानसँग खेल्ने
यही त हाम्रो भविष्यको आधारशीला हो
अनि हामी यो देशका आधारस्तम्भ

Leave a comment